काठमाडौँ, चैत ८ :

नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान घोषणा गरेको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिने बताए । उनका अनुसार अभियानअन्तर्गत एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ ।

अभियानका क्रममा यही चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी विरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम र  चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिने उनले बताए । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ  ।

चैत २४ देखि ३० गतेसम्म प्रमुख शहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । 

प्रदेश तहमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि भने आवश्यकता आधारमा केन्द्रीय नेता खट्ने उनले बताए ।