मोरङ, चैत ८ :

मोरङको सुन्दरहरैँचा नगरपालिका १०, स्थित सुकुना माध्यमिक विद्यालयका आठजना जुम्ल्याहा विद्यार्थीले एसईई (माध्यमिक शिक्षा परीक्षा) मा सहभागी भएका छन् ।

यो विद्यालयबाट कोसी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसईई दिइरहेको र जसमध्ये आठजना जुम्ल्याहा रहेको सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए ।

विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन् । जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ ।

२०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो ।

प्रदेशकै नमुना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा १२ कक्षासहित हाल ४ हजार ५०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए । कोसी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।