
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस मोरङ-काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तर्क्रियामा नेता कोइरालाले महाधिवेशन २०८२ मंसिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने दाबी गरे । उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्नेमा जोड दिए ।
‘महाधिवेशन २०८२ मंसिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ नेता कोइरालाले भने । उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राखे ।
नेता कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताए । जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गरे ।
‘नेपाली कांग्रेस जनताको पार्टी हो । नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ । तर, हामी सुध्रिनुपर्यो । जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपर्यो,’ उनले भने, ‘त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ ।’ कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको पनि उनको दाबी छ ।