पर्वत, चैत ९ :

पर्वतको मोदी गाउँपालिका ५ स्थित भद्र खोला पुल नजिकैको वनमा डढेलो लागेको छ । 

डढेलोसँगै माथिबाट ढुंगा खस्ने क्रम जारी रहँदा बागलुङतर्फ जाँदै गरेका यात्रुहरू बाटोमै रोकिएका छन् । यद्यपि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले डढेलो निभाउने प्रयास जारी राखेका छन् ।

प्रत्येक वर्ष डढेलोका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । जसले गर्दा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सरकारको समयमै पहल आवश्यक देखिन्छ ।

संघ, प्रदेश, र स्थानीय तहका सरकारहरूले समन्वय गरेर वन डढेलो नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउनु अपरिहार्य भएको विज्ञहरू बताउँछन् । फागुन र चैतलाई सुक्खा मौसम मानिने भएकाले घाम चर्को लाग्दा वन डढेलो अनियन्त्रित रूपमा फैलिने खतरा रहन्छ ।