रुपन्देही, चैत ९ :

तेस्रो लुम्बिनी पिस म्याराथनको उपाधि भारतीय सेनाका अनिश थापा मगरले जितेका छन् । फोर एट गोर्खा राइफल्सका मगरले ४२ किमि दूरी २ घण्टा २० मिनेट १८ सेकेन्डमा पूरा गरी पहिलो स्थान हासिल गरेका हुन् । उनले ३ लाख ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्रिभुवन आर्मी क्लबका सुशीलकुमार शाही २ घण्टा २० मिनेट २५ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थानमा रहे । उनले २ लाख ५० हजार नगद जिते । केन्याका धावक स्टेफेन कोस्गेईले २ घण्टा २० मिनेट ४७ सेकेन्डमा म्याराथन पूरा गरी तेस्रो स्थान प्राप्त गरे । उनलाई १ लाख ५० हजार नगद प्रदान गरिएको थियो ।

महिलामा सन्तोषी भइन् पहिलो 
२१ किमिको महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ५ सेकेन्डमा दूरी पूरा गरी प्रथम स्थान प्राप्त गरिन् । उनले १ लाख ५० हजार नगद पुरस्कार जितिन् ।

त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने २ घण्टा २१ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । उनले १ लाख नगदसहित मेडल प्राप्त गरिन् । चीनकी चेन वेईले २ घण्टा २६ मिनेटमा दूरी पूरा गर्दै तेस्रो स्थान हात पारिन् । उनलाई ८० हजार नगद प्रदान गरिएको थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको यस म्याराथनका विजेताहरूलाई चीनका राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यसैक्रममा, ५ किमि दूरीको छात्र-छात्रा म्याराथन र ३ किमीको वकाथन प्रतियोगितासमेत सम्पन्न भए । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा ध्यान महोत्सव कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा विभिन्न निकायहरूको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको थियो ।