
सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद भएको घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार, जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा तीन जनाविरुद्ध जाहेरी परेको छ।
पीडित दीपक मरिकले दलित अगुवाहरूको उपस्थितिमा जाहेरी दिँदै गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाएका छन्। राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा प्रतिवादीहरूले जातीय छुवाछूत गरेको, जबर्जस्ती घर भत्काएर विस्थापित बनाएको भन्दै दोषीलाई कानुनी कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।
घटनामा संलग्न भएको आरोपमा गाउँपालिकाका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादवलाई प्रहरीले शुक्रबार नै पक्राउ गरिसकेको छ। तर, बजरंगी बाबा भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए।
चैत १७ गते आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० गते दीपक मरिकको घर भत्काइएको थियो। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, गाउँपालिकाका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर मरिकको घर भत्काएका थिए। घटनापछि विरोध चर्किएको छ।
घर भत्काउन गाउँपालिकाको जेसीबी प्रयोग गरिएको थियो, जसमा अध्यक्ष यादव आफैं संलग्न थिए। भत्काइएको घरको जग रहेको जमिनको माटो समेत हटाइएको छ, जसलाई समुदायले जातीय विभेदको गम्भीर घटना भनेर विरोध जनाइरहेका छन्।
यस घटनालाई लिएर गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय तानेको छ। त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले घटनास्थलमै पुगेर अनुसन्धान अघि बढाएका छन्।