चितवन, चैत ११ :

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । 

निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि सङ्ख्या बढ्न थालेपछी बासस्थानको समस्या पनि बढेको छ । 

चितवन राष्ट्रिय निकुञ्जले गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए ।
 
हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक रहेको भन्दै उनले खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिने बताए ।

नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । 

एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उनले जानकारी दिए । पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो । 

नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताए ।