
निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने नेपाली चलचित्र महाभोज का लागि नयाँ गीत रेकर्ड गरेका छन् ।
स्टुडियो फिलमा उनले लालुमै शीर्षकको गीत रेकर्ड गरेका हुन् । जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत छ ।
चलचित्र महाभोजलाई चर्चित निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । रोचक कुरा के छ भने, निश्चल बस्नेतलाई ‘काले दाइ’ भनेर चिनाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको चलचित्र पर्व को लोकप्रिय गीत ‘काले दाइ’बाट मिलेको थियो । उक्त गीतमा बस्नेतले स्वर दिएका थिए भने नृत्याङ्गना माला लिम्बूसँग नृत्य समेत गरेका थिए । हालसम्म यो गीत युट्युबमा ६ करोड ३० लाखपटक हेरिएको छ ।
निर्देशक दिनेश राउतका अनुसार, लालुमै गीतको लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएका कारण उनलाई नै रोजिएको हो । ‘८ वर्षअघि पर्वको गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले लालुमैमा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ,’ राउतले भने । पहिले ‘काले दाइ’ का रूपमा परिचित निश्चल अब ‘लालुमै’को नयाँ परिचयसँग दर्शकमाझ आउने राउतले दाबी गरे ।
पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका राउतको आठौँ चलचित्र ‘महाभोज’लाई दर्शकले उच्च अपेक्षाका साथ पर्खिरहेका छन् । यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहलगायत कलाकारको अभिनय छ ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेशबहादुर रावतको छ ।
मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।