
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको योगदान रहेको बताएका छन् ।
सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’नामक पुस्तकको मंगलबार विमोचनका क्रममा देउवाले कोइरालालाई २०२४ सालमा नक्खु जेलमा चिनेको बताए।
देउवाले उहाँ(गिरिजा) कहिल्यै नथाक्ने मान्छे भएको चर्चा गर्दै त्यस्ता जुझारु कहिल्यै नथाक्ने मान्छे आफूले कहिले नदेखेको बताए ।
गिरिजाप्रसाद कोइरालासँग धेरै उतारचढाब आएको स्मरण गर्दै देउवाले पार्टीबाट निकालेपछि त्यतिबेला पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक राखिएको बताए । ।
‘मैले उहाँलाई नख्खु जेलमा हो चिनेको । हामीलाई पक्राउ गरेर लगेको थियो २४ सालमा । धेरै काम गर्ने मौका पाएँ । कहिल्यै नथाक्ने मान्छे हो उहाँ । उहाँजस्तो जुझारु कहिल्यै नथाक्ने मान्छे मैले देखेकै छैन,’ उनले भने, ‘ तपाईं बुढो मान्छे किन नथाकेको म त थाकिहाल्छु भन्थेँ ।’
मलाई राजाले थुनेको बेलामा कोइराला आएर भेटेको र जेलभित्र पनि जेलमा राखेका रहेछन् भनेको कुरा पनि देउवाले सम्झिए । गिरिजाप्रसाद कोइरालाको योगदानले नै आफू सभापति हुन पाएको पनि बताए ।