
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
बुधबारको बैठक सुरु हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए ।
सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए । उनले बोलेपछि सभामुखले सबैलाई बस्न अनुरोध गरे पनि घिसिङलाई हटाउने निर्णय भएको भन्दै विपक्षी दलहरुले उठेर विरोध जनाइरहे । सभामुख देवराज घिमिरेले सांसदहरुलाई बस्नका लागि पटक-पटक अनुरोध गरे पनि विरोध भइरहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
यसअघि आज बिहान बसेको विपक्षी दलहरूको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेका थिए । बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको नेसपा अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।
कुलमानलाई हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षी दलहरुको निर्णय