
बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले बिहीबार रूसविरुद्धका प्रतिबन्धहरू हटाइन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाइनुपर्छ भन्नेमा सहमति जनाएको बताएका छन् ।
“प्रतिबन्धहरू हटाउने समय अहिले बिल्कुल पनि होइन, यसको विपरीत- हामीले के कुरामा छलफल गर्यो भने कसरी अमेरिकी पहलमा थप दबाव दिएर रूसलाई वार्ता गर्न बाध्य पार्न सकिन्छ”, स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगै भने ।
जेलेन्स्कीले भने, “सबैले बुझे र बुझ्छन् कि आज रूसले कुनै पनि किसिमको शान्तिलाई चाहँदैन ।”
एउटा छुट्टै ब्रिफिङमा जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसविरुद्धका प्रतिबन्धहरू हटाउनु ‘गम्भीर गल्ती’ हुने र शान्ति नआउञ्जेल ‘कुनै अर्थ छैन’ भनेका छन् ।
“शान्ति वास्तविक रूपमा प्राप्त नभएसम्म प्रतिबन्धहरू अन्त्य गर्नुले कुनै अर्थ राख्दैन र दुर्भाग्यवश हामी त्यसबाट अझै धेरै टाढा छौँ”, स्कोल्जले भने ।
जेलेन्स्कीले रुसले यो युद्ध नरोकुञ्जेल कुनै पनि प्रकारका प्रतिबन्धहरू हटाउन नहुने र यसको सट्टा थप दबाब, प्रतिबन्धहरूको थप प्याकेजहरू हुनुपर्ने बताएका छन् ।
स्टार्मरले जेलेन्स्कीलाई युक्रेनसँग ‘लामो समयसम्म पूर्ण समर्थन रहेको भन्दै युक्रेनमा ‘शक्तिद्वारा शान्ति’ हेर्नका लागि आफू ‘दृढ’ रहेको बताए ।
ृउनले युक्रेनमा शान्तिको खोजीमा रुसले ‘ढिलाइ गर्ने प्रयास’ गरेको आरोप लगाएका छन् ।
कुनै पनि युद्धविरामपछि युरोपले युक्रेनलाई बलियो बनाउन खोजिरहेको बेला स्टार्मरले शान्तिलाई आश्वस्त पार्ने योजनाहरू- इच्छुकहरूको गठबन्धन (हवाई, भूमि वा समुद्रमा) भए पनि सैन्य परिचालनबारे छलफल गरेको बताएका छन् ।
आगामी दिनहरूमा सुरक्षा प्रत्याभूतिहरूमा काम गर्ने जेलेन्स्कीले बताएका छन् । -रासस