बलिउड अभिनेता टाइगर श्राफमाथि आइतबार साँझ मुम्बईको जुहूस्थित पुष्पा पार्कनजिक गोली प्रहार भएको छ। मोटरसाइकलमा आएका तीन जना व्यक्तिले साँझ ७ बजे उनको गाडीलाई लक्षित गरी पाँच राउन्ड गोली चलाएको बताइएको छ। घटनामा टाइगर सुरक्षित रहेको जनाइएको छ।
प्राप्त समाचार अनुसार, फुटबल खेलेर फर्किने क्रममा टाइगरको गाडी पुष्पा पार्कनजिक रोकिएको थियो। उनलाई हेर्न त्यहाँ मानिसहरूको भीड जम्मा भएको थियो। सोही क्रममा एउटै मोटरसाइकलमा आएका तीन जना व्यक्तिले उनको गाडीमाथि गोली प्रहार गरेका थिए।
गोली प्रहारबाट टाइगरका चालक र एक अटो–रिक्सा चालक घाइते भएको बताइएको छ। उनीहरूको अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।
यसैबीच, मुम्बई प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा गोली प्रहारको कारणबारे अनुसन्धान गरिरहेको जनाइएको छ।