
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ स्थित थामेखोला जालाधारको माथिल्लो तटीय क्षेत्रमा गत साउन ३२ गते हिमताल विस्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।
प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विस्फोटको जोखिममा रहेको उल्लेख गर्दै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताए ।
सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न जरुरी रहेको भन्दै विगतका पाठ सिकेर आगामी दिनमा कसरी क्षति न्यूनीकरण गर्ने भन्ने विषयमा समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । जोखिममा रहेको बस्तीलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा पनि बहस हुनुपर्ने उनको भनाइ छ ।
प्राधिकरणकै सहसचिव अर्जुनकुमार बमले थामेमा अझै पनि जोखिम कायमै रहेको भन्दै कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक तयारी आवश्यक रहेकामा जोड दिए । जोखिम न्यूनीकरणका लागि आगामी दिनमा पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित सरोकारवाला निकायसँग पनि समन्वय गर्ने उनले बताए ।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले थामेको बस्ती पुनःनिर्माणका लागि अन्य क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण समयमै सम्पन्न गरेर पुरानै अवस्थामा फर्काउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।
थामे क्षेत्रमा भएको हिमताल बाढीको घटनाले जलवायु जोखिमको जटिलता उजागर गरेको छ । विज्ञहरूले आगामी सम्भावित बाढीलाई रोक्न वैज्ञानिक अनुगमन, इञ्जिनियरिङ समाधान तथा स्थानीय समुदायलाई सचेत गराउने उपायहरू अपनाउनुपर्नेमा जोड दिएका छन् ।