काठमाडाैं, चैत १५ :

राजावादी प्रदर्शनकारीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन् । शुक्रबार मध्याह्नतिर तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीले एक्कासि उडन्दता देखाउँदै जथाभावी रुपमा घर, गाडीमा आगजनी गरी क्षति पुर्याएका छन् ।

उनीहरु यतिमा मात्र सीमित भएनन् कि प्रहरीको हतियार खोस्ने, मिडिया हाउसमा पसेर तोडफोड र व्यापारी महलमा प्रवेश गरेर लुटपाट समेत मच्चाए । भिडले नियन्त्रणबाहिर गएर उडन्दता मच्चाउन थालेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गर्न बाध्य भएको थियो । प्रदर्शनकारीको ढुंगामुढाबाट सुरक्षकर्मी घाइते भएका छन् भने प्रदर्शनकारीहरु पनि घाइते भएका छन् ।

कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका छन् । साथै कार्यालय परिसरमा रहेका गाडीहरूमा समेत उनीहरूले आगजनी गरेका छन् । 

तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि राजावादी प्रदर्शनकारी जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेका हुन् । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा समेत उनीहरूले लुटपाट मच्चाएका थिए ।

समर्थकहरु तोडफोड र आगजनीमा उत्रिएपछि आफ्नै सभा बिथोलेका छन् । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आइनपुग्दै भिड भड्किसकेको थियो । आक्रोशित भिडलाई नियन्त्रण गर्ने स्थिति नभएपछि राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमान्डर बनेका दुर्गा प्रसाईंलगायत नेताहरु एकछिन देखापरेर भागिसकेका थिए । तीनकुने पुगेका प्रसाईंले यति मात्र भनेकी निजी सम्पत्तिमा आक्रमण नगर्नु ।

तर उनले प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो आरोप लगाएका छन् । यस्तै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रले पनि तोडफोड र आगजनीको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । 

राजवादीहरुको आन्दोलन के कारण नियन्त्रणबाहिर गयो भन्ने कुराको कसैलाई पत्तो छैन । प्रदर्शनको अनुमगनका लागि पुगेका विभिन्न मानवअधिकारवादी संगठनहरुले के देखे त्यो धारणा सार्वजनिक भएको छैन । जनताका करोडौंको सम्पत्ति क्षति भएको छ त्यसको जिम्मा कसले लिने हो ?