
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०६२–६३ को जनआन्दोलनले नेपाली महिलाको सशक्तीकरणमा विशेष योगदान दिएको बताएकी छन् ।
‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिबार भैरहवामा भएको लुम्बिनी प्रदेशस्तरीय महिला जनप्रतिनिधिको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएकी हुन् । जनआन्दोलनपछि पुनर्स्थापित संसदले नै महिलाका अधिकारलाई सुनिश्चित गरेको बताइन् ।
उहाँले भन्नुभयो, ‘२०६२–६३ जनआन्दोलनपछि पुनर्स्थापित सदनले महिलाका ४ अधिकार स्थापित गरेको थियो, त्यसैको जगमा उभिएर २०७२ सालमा जारी संविधानले ३३ प्रतिशत संवैधानिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको हो ।’
पूर्वराष्ट्रपति भण्डारीले तीनै तहमा निर्वाचित जनप्रतिनिधि महिलाको भूमिका सशक्त हुँदैगएको भन्दै खुसी व्यक्त गरिन् । उनले सिद्धार्थ नगरपालिका भैरहवाले प्रदेशभरिका जनप्रतिनिधि एकै ठाउँमा भेला गराई गरेको कार्यक्रम अर्थपूर्ण रहेको बताए ।
उनले महिला सशक्तीकरणका लागि महिलालाई आर्थिक सशक्तीकरणमा पनि जोड्नु पर्ने बताइन् । उनले समाजमा अहिले पनि विभिन्न कुरीति र विकृति रहेको बताउँदै जनप्रतिनिधिमा महिला भएकै कारण विभेद भइरहेको पनि बताइन् ।
उनले सङ्घ, प्रदेशदेखि स्थानीय तहसम्म महिला जनप्रतिनिधिको सहभागिताले लैङ्गिक विभेदलाई अन्त्य गर्ने बताइन् । भण्डारीले इतिहासको चर्चा गर्दै नेपाल राष्ट्रको निर्माणदेखि लोकतन्त्रको स्थापना र सामाजिक न्यायका लागि पुर्खाहरूको योगदानलाई बिर्सन नहुने बताइन् ।
उनले जनप्रतिनिधिलाई अधिकार मात्र नभएर जिम्मेवारीमा पनि ध्यान दिन आग्रह गर्दै सामुदायिक विद्यालयको शिक्षा र दिवाखाजालाई सही ढङ्गले प्रदेश र स्थानीय जनप्रतिनिधिले व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनुका पोखरेलले अपमान र तिरस्कारका कुरालाई पन्छाउँदै अगाडि बढ्न जरुरी भएको बताइन् । महिला विभाजित हुँदा अधिकारबाट पनि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले बताइन् । महिला एक कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक जमुना ढकालले देशमा भएको हरेक परिवर्तनमा महिलाको महत्त्वपूर्ण योगदान भएको बताइन् ।
लोकतान्त्रिक समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक हेमा बेल्वासे केसीले प्रमुख ओहोदाहरूमा पनि महिलाले नेतृत्व गर्न सक्छन् भन्ने दिन आएको बताइन्। बेल्वासेले बजेट र नीति बनाउने बेला महिलाहरू विभेदमा परेको जानकारी दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले नीति बनाउने ठाउँमा महिलाहरू पुग्न जरुरी भएको बताइन्। सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले कार्यक्रममा स्वागत मन्तव्य राखिन्।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख इस्तियाग अहमद खानले गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री भुमिश्वर ढकाल लगायतको सहभागिता थियो ।