काठमाडौं, चैत १८ :

प्रधानमन्त्री केपी ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  पूर्वराष्ट्रप्रमुखको हैसियतमा नागार्जुन दरबार प्रयोग गर्न दिएको, सुरक्षाको प्रबन्धदेखि सबै व्यवस्था गरिदिँदा उनीमा उन्मात चढेको बताए ।

ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै बक्तव्यवाजी गरेर जनमत भड्काउने काम सुरु गरेको उनले बताए । चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’तोकेर हिंसात्मक वारदातका लागि खटाएको ओलीको दाबी थियो ।

‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन,’उनले भने, ‘यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न ।’

फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? भनी प्रधानमन्त्री ओलीले प्रश्न गरे ।

उनले राजतन्त्रलाई इतिहासले कुनामा फ्याँकिसकेको भन्दै फेरि शासक बन्ने सपना नदेख्न पूर्वराजालाई चेतावनी दिए । ओलीले भने,‘सबै घटनाको मुल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’
हाल राष्ट्रियसभाका सदस्य एवं तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट ज्ञानेन्द्रलाई सुविधासहित संवाद व्यवस्थापन गरेको समेत ओलीले चर्चा गरे ।

प्रधानमन्त्री ओलीले तीनकुने घटना निन्दनीय भएको जनाउँदै खेद  यस्ता घटनामा संलग्न हुने जोसुकै होस् कारबाहीको दायरामा ल्याउने बताए ।

तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जानकारी गराए अनुसार  कार्यक्रम नगरेको उनको भनाइ थियो ।

‘उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमाण्डर’आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो,’उनले भने, ‘भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो ।’



उनीहरुले निजी व्यक्तिको घरमा आगजनी मात्रै गरेनन् मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै जलाउने जस्ता निन्दनीय कार्य गरेको ओलीको भनाइ थियो ।

साथै अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने जस्ता आतङ्ककारी काम गर्न खोजिएकोप्रति पनि सदनको ध्यानाकर्षण गराए ।

प्रस्तुत छ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सोमबार गरेको सम्बोधनको पूर्ण पाठ :

सम्माननीय सभामुख महोदय,
१. मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागिता
भोलिबाट मित्र राष्ट्र थाइल्यान्डमा मेरो औपचारिक भ्रमण हुँदैछ । कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ बर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक औपचारिक भ्रमण हुँदै छ । यस बीचमा यति नजिकको र ट्रान्जिट पोइन्टजस्तो त्यहीबाट यता जाने, उता जाने तर औपचारिक भ्रमण चाहिँ नभएको त्यस्तो अवस्था रहेछ । त्यसलाई अन्त्य गर्नका लागि यसपटक औपचारिक भ्रमण नेपालको तर्फबाट पहिलो पटक कार्यकारी प्रमुखको पहिलो पटक हुँदैछ । यस अर्थमा यो भ्रमण आफैँमा महत्वपूर्ण हो भन्ने ठान्दछु । भोलि १९ गते (अप्रिल १) मेरो भ्रमण टोली बैंककतर्फ प्रस्थान गर्नेछ ।

२० गते हाम्रो औपचारिक भ्रमण सुरु हुन्छ । भ्रमणको क्रममा महामहिम प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुन्छ ।

यसपटक पर्यटन र सँस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुन्छ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्रीसँगै मैले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछु । 
थाइल्यान्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण समाप्त हुनेछ ।

२१ गते (३ अप्रिल) विहान थाइल्यान्डका प्रतिष्ठित व्यावासायीहरुसँग मेरो भेटघाट र छलफल हुनेछ । दिउसो एशियन इन्स्टीच्युट अफ टेक्नोलोजीमा मैले सम्बोधन गर्नेछु । 
साँझ हुने बिमस्टेक शिखर सम्मेलनका नेताहरुलाई दिइने औपचारिक डिनरमा सहभागि हुनेछु ।

समयको चाप छ, अधिकांश सदस्य देशका नेताहरु २१ गते मात्र बैंकक आइपुग्ने तालिका छ । तर पनि शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरुसँग सम्भव भएसम्म साइडलाइन वार्ताको योजना गरिएको छ ।

२२ गते हामी बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछौं । विहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेसन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागि हुनेछु । दिउसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साँझ दूतावासमा हुने कार्यक्रमसँगै हाम्रो भ्रमणका कार्यक्रम सकिनेछन् । २३ गते हामी स्वदेश फर्किने छौं ।

यस भ्रमणका दुईवटा उद्देश्य मैले भनेँ, एउटा औपचारिक भ्रमण र अर्को विमिस्टेक शिखर सम्मेलनमा सहभागिता । यसै सन्दर्भमा अरु केही साइड लाइनका कामहरु हुने मैले यस गरिमामय सदनसमक्ष जानकारीका लागि निवदेन गरेको छु ।

समसामयिक विषय
गत चैत १५ गते २ वटा रानीतिक कार्यक्रमबारे प्रशासनलाई जानकारी गराइएको थियो । दुबै कार्यक्रम शान्तिपूर्ण र संवैधानिक दायराभित्रको भनिएको थियो । शान्ति, सुव्यवस्था कायम राख्दै विरोध- आलोचनाको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारले हुनसक्ने अवाञ्छित घटनाप्रति आयोजकहरुलाई सचेत गराएको थियो ।

यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरुको मूल नेतृत्वमा ‘सामाजवादी मोर्चा’ले काठमाडौंको प्रदर्शनी मार्गमा भव्य सभा गर्‍यो । आफ्नो धारणा सार्वजनिक गर्‍यो । सरकारलाई खवरदारी गर्‍यो । संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो ।

शालीन जुलुस सहित भएको त्यस कार्यक्रमका आयोजकहरुलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने बिधि यस्तै हो भन्ने पनि म ठान्दछु ।

काठमाडौंको तीनकुनेमा अर्को सभाको लागि स्थान दिइएको थियो । त्यस कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरुको पनि थियो ।

तर तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जाकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो । सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमान्डर’ आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउनेगरी निषेधित क्षेत्र तोड्न दौडाइयो । भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरिए ।

हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो । प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो ।

यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन्, जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही हुन्छ । घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीज्यूले यस सदनमा राख्नु हुनेछ ।

घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको छ । यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ । विस्तृत प्रतिवेदनपछि आउने मैले बताइसकेको छु ।

यस घटनको पृष्ठभूमिमा करिव १ वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक छ । सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजीरहेको थियो । धर्म, सँस्कृति, परम्पराजस्ता संबेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणिहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।

यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो । फागुन २५ गते कथित ‘स्वागत-सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित “जनकमान्डर” तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।