काठमाडौं, चैत १८ :

नेपाल पत्रकार महासंघले राजावादीको प्रदशर्नका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणविरूद्ध सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

गृहमन्त्री लेखकलाई महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएको हो । गृहमन्त्री लेखकले मागप्रति सरकार गम्भीर रहेकाले आवश्यक परामर्शपछि निर्णय लिइने जानकारी गराए ।

ध्यानाकर्षण पत्रमा महासंघले मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति,घाइते पत्रकारको उपचार, क्षति पुर्‍याइएका र हराएका सञ्चार उपकरणको क्षतिपूर्ति तथा सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति नभए एक सातापछि सरकारविरूद्ध आन्दोलित हुने सरकारलाई चेतावनी दिइएको छ ।

ध्यानाकर्षण पत्रमा आगोमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको सम्बन्धमा छानबिन गरी दोषीहरूलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

साथै क्षति पुर्‍याइएका अन्नपूर्ण पोस्ट, कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजनलाई क्षतिपूर्ति दिन र घाइते पत्रकारलाई क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन माग गरिएको छ ।

सञ्चार गृह तथा सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन महासंघले माग गरेको छ । ती मागको यथोचित सम्बोधन नभए महासंघ सरकारविरुद्ध आन्दोलित हुने महासचिव दाहालले बताए ।

महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक, प्रदेश समितिहरूले मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री र शाखाहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सोमबार ध्यानाकर्षण पत्र बुझाएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यसैगरी महासंघको टोलीले मारिएका पत्रकार रजकको परिवार र आफन्तसँग भेटी छलफल गरेको छ ।