तेहरान, चैत १८ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

नेता खामेनीले मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको अवसरमा एक भाषणको क्रममा ट्रम्पको पछिल्लो भनाइप्रति टिप्पणी गरेका हुन् ।

शनिबार एक अन्तर्वार्तामा ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै सम्झौता नगरेमा उनीमाथि बम प्रहार गरिने बताएका थिए ।

आफ्नो पहिलो कार्यकालमा उक्त नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गरेका थिए ।  त्यसपछि तेहरानमाथि पुनः कडा प्रतिबन्ध लगाएका थिए ।

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा देशहरूले लामो समयदेखि इरानले आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् ।  यसलाई तेहरानले अस्वीकार गर्दै आएको छ । गत मार्च ७ मा ट्रम्पले खामेनीलाई आणविक वार्ताका लागि आह्वान गर्न पत्र लेख्नुभएको थियो र तेहरानले नमाने सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका थिए ।