
फाइल तस्बिर।
चीनको नेसनल अफशोर आयल कर्पोरेसनले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठुलो तेल खानी पत्ता लगाएको जनाएको छ ।
चीनको गुआङडोङ प्रान्तको शेन्जेनबाट करिब १७० किलोमिटरको दूरीमा हुइझोउ १९–६ तेलक्षेत्र रहेको कर्पोरेसनले जनाएको हो। परीक्षण ड्रिलिङबाट दैनिक ४१३ ब्यारेल कच्चा तेल र ६८ हजार घनमिटर प्राकृतिक ग्यास उत्पादन भएको सीएनओओसीले जनाएको छ ।
सरकारी स्वामित्वको तेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत झोउ सिन्ह्वाईले दक्षिण चीन सागरको पूर्वमा तेल र ग्याँस अन्वेषणमा क्रमिक सफलताको प्रशंसा गरे ।
सीएनओओसीले लगातार दुई वर्षमा १० मिलियन टन तेल क्षेत्रहरू पत्ता लगाएको हो । अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनले दक्षिण चीन सागरमा क्षेत्रीय विवादका कारण धेरै हदसम्म कम अन्वेषण गरिएको तर पत्ता लागेका अधिकांश तेल र ग्याँस निर्विवादित क्षेत्रमा रहेको बताएको छ ।
सीएनओओसीका प्रमुख भूगर्भविद् जु चाङगुईले यो खोज ठुलो सफलता भएको बताए। अमेरिकी सरकारको विश्लेषणअनुसार गत वर्ष दैनिक एक करोड ११ लाख ब्यारेल कच्चा तेल आयात गर्दै आएको चीन विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो ।