काठमाडौं, चैत १९ :

झारखण्डमा मंगलबार बिहान दुई मालवाहक रेल आपसमा ठोक्किएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यो दुर्घटना झारखण्डको साहिबगंजमा भएको हो ।

दुर्घटनामा दुईजना रेल चालक (लोको पाइलट) को मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटना दिउँसो ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्रअन्तर्गत भोगनाडिहनजिकै भएको बीबीसी हिन्दीले समाचारमा जनाएको छ । दुवै रेल सरकारी विद्युत् कम्पनी एनटीपीसीका थिए ।

दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीको हो । यो ट्र्याक मुख्यत: पावर प्लान्टहरूमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ ।