काठमाडौं, चैत १९ :

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जलवायु न्यायसम्बन्धी अभियानबारे जानकारी गराएको छ ।

१७ वर्षअघिदेखि जलवायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान सञ्चालन गर्दै आएको समाजले पछिल्लो चरणमा जीवनचक्र परिस्थिति सन्तुलन र अहिंसात्मक जीवनधारालाई संविधानको प्रस्तावनामै समावेश गर्न आग्रहसहित चैत १७ गतेबाट जलवायु न्यायकेन्द्रित विशेष अभियान सञ्चालन गरिरहेको छ ।

शीतलनिवासमा भएको भेटमा भविष्यमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान संशोधनका क्रममा अहिंसात्मक जीवनधारा र जीवनचक्र परिस्थिति सन्तुलनलाई संविधानको प्रस्तावनामानै समावेश गर्नसहित १० बुँदामा केन्द्रित रही अभियान थालेको समाजले जनायो । संविधान संशोधन निरन्तर चलिरहने प्रक्रिया भएको भन्दै नागरिक सर्वोच्चताको प्रतीक लोकतान्त्रिक गणतन्त्रको विकल्प कल्पना पनि गर्न नसकिने पनि समाजले स्पष्ट गरेको छ ।

राष्ट्रपतिसँगको भेटमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्वसभापतिहरु होमकान्त चौलागाईं र डा. गंगाधर अधिकारी, सल्लाहकार रामप्रसाद जोशी कोषाध्यक्ष चन्द्रमणि बन्जारालगायतको सहभागिता थियो ।