बागलुङ, चैत २० :

चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा धार्मिक पर्यटक बढेका छन् । 

आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा- टाढाबाट भक्तजन पुग्ने गर्दछन् ।

चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 

यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको खड्काले बताए । मन्दिरमा छिमेकी मुलुक भारतबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । 

यही अवसरमा चैत २० गतेदेखि मेलासमेत आयोजना गरिएको छ । भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।”

मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनेले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।