
काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै जुद्ध वारुणयन्त्र शाखा कार्यालय भवन शुभारम्भ गरेको छ ।
उद्योग व्यवस्थापन कार्यालय परिसरमा नवनिर्मित भवनको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आज (बुधबार) उद्घाटन गरे । २०८० पुस १८ गते शिलान्यास भएको भवन निर्माणको अवधि २०८१ फागुन मसान्तसम्म थियो । २०७९ मंसिर २६ गते २८औँ महानगर दिवसको अवसर पारेर यस ठाउँबाट दमकल सेवा शुभारम्भ गरिएको थियो ।
उद्घाटन कार्यक्रमका वक्ताहरुले वडा नम्बर १६ का तत्कालीन अध्यक्ष दिवंगत मुकुन्द रिजालले स्थानीय विकासमा पुर्याएको योगदानको चर्चा गरे । ‘उहाँकै कारण आज यस ठाउँमा दमकल भवन सम्भव छ । दमकल भवनजस्तै उहाँले देखेका धेरै सपना पूरा गर्नुपर्नेछ । यसका लागि साझा प्रयत्न गरौँ,’ वक्ताहरुको साझा धारणा थियो ।
त्यसअवसरमा वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठले आगलागी नियन्त्रणका लागि दमकलसँगै स्थानीय स्रोत र क्षमताको उपयोग बढाउँदै जानुपर्ने बताइन् । सहरका विभिन्न स्थानमा स्थापना गरिएका वारुणयन्त्र कार्यालयबाट आगलागीका घटनामा छिटो पुग्न सक्ने वातावरण तयार हुँदै गएको धारणा राख्दै विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले साधन र उपकरणको उपलब्धतासँगै आगलागी नियन्त्रणमा काम गर्ने जनशक्ति, वडा र समुदाय स्तरीय जनशक्तिको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा दिवंगत रिजालकी पत्नी कविता आचार्य रिजालले आफ्ना पतिले तर्जुमा गरेर कार्यान्वयन गर्न नपाएका कार्यान्वयन भइरहेकामा प्रशन्नता व्यक्त गरिन् । कार्यक्रममा उनलाई सम्मान पनि गरिएको थियो ।
भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको भुइँतलामा ८० हजार लिटर र छतमा २० हजार लिटर गरी १ लाख लिटर पानी भण्डारण क्षमता छ । छतको पानी दमकलमा भर्न ३ इञ्चको पाइप राखिएको छ । कर र पीएससहित ५ करोड ९१ हजार ७१४ रुपैयाँ लागतमा निर्माण कार्यादेश दिइएको भवन निर्माणको कार्य सम्पन्न रकम ४ करोड ८८ लाख २६ हजार ८४५ रुपैयाँ हो ।
यो रकम कार्यादेश दिइएको अंकभन्दा २.०५ प्रतिशत कम हो । श्रेष्ठका अनुसार ठेकेदार सबिरा मंगलुग्मा जेभीले लागत अनुमानभन्दा ९.९५ प्रतिशत रकम कम कबोल गरेको थियो ।
भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइएको भवन अगाडि सडकबाट ३ तला र पछाडिबाट ५ तलाको देखिन्छ । भवनको बाहिरी मोहडा परम्परागत नेपाली शैलीको छ । यो शैली महानगरपालिकाले निर्माण गर्ने अन्य भवनसँग एकरुपता छ । भित्री भाग आधुनिक शैलीको छ ।
एक हजार ६२० वर्गफुट क्षेत्रफल भएको भवनको जमिन तलामा २ वटा ठुला दमकल र एउटा एम्बुलेन्स राख्ने स्थान छ । यो तलामा दमकल मर्मत गर्ने कक्ष, एम्बुलेन्स चालक सुत्ने कक्ष, बाहिरी शौचालय छ । एक तलामा कर्मचारीहरुको विश्राम स्थल र कार्यालय कक्ष राखिएको छ । पहिलो तलामा कमान्डर कक्ष, लुगा फेर्ने कोठा र २० जना अग्नि नियन्त्रकका लागि शयन कक्ष छ । यसमा डबल डेकर गर्दा ४० जना जनशक्ति सुत्न सक्छन् ।
दोस्रो तलामा विपद् व्यवस्थापन र सुरक्षाका लागि खटिने जनशक्तिका लागि भान्सा, भाँडाकुँडा सफा गर्ने ठाउँ, स्नान कक्ष र शौचालय छ । चौथो तलामा ८ सय वर्गफुटको कक्ष छ । यसलाई योग अभ्यास गर्ने, जिम गर्ने इनडोर स्पोर्टस्का लागि प्रयोग गर्न सकिन्छ । भवनको जम्मा क्षेत्रफल ५ हजार ८३२ वर्गफुट छ ।