
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर बालेन्द्र (बालेन) शाह र उपमेयर सुनीता डंगोलबीच नै मनमुटाब हुन थालेको छ ।
मेयर र उपमेयरबीचको आरोप प्रत्यारोपले गर्दा महानगरमा भाँडभैलोको स्थिति उत्पन्न भएको छ । जनप्रतिनिधि र कर्मचारीहरु दुई पक्षमा विभाजित भएका छन् ।
मेयर शाह र उपप्रमुख डंगोलबीचको खटपटसँगै महानगरभित्र काम गर्ने वातावरण थप जटिल हुँदै गएको छ। उपप्रमुखले भनेका कुरा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नै टेर्न छाडेका छन् । यसले महानगरपालिकामा समन्वयको संकट झन् चुलिँदै गएको छ।
कर्मचारीहरूका अनुसार, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अवरोध र टकरावका कारण नागरिकको सेवामा बाधा पुगेको छ ।
लामो समयको अन्तरालमा प्रशासकीय अधिकृत कार्यालयमा आउँदा मेयर शाहले स्वागत गर्नुको साटो उल्टै कार्यकक्षमा ताला ठोकेर बाहिरिए ।
काठमाडौं महानगरपालिकामा तीन महिनापछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको प्रवेशसँगै विवाद उत्कर्षमा पुगेको छ ।
तीन महिनासम्म कार्यालय नपुगेका गुरागाईँ आज (बिहीबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा महानगरपालिकाको कार्यालय हाजिर हुन पुगेका हुन् । एक महिनाअघि मन्त्रालयले उनलाई काठमाडौं महानगरपालिकामा हाजिर हुन निर्देशन दिएको थियो।
उपप्रमुख डंगोल र अन्य कर्मचारीहरूले दोषी प्रमाणित नभएसम्म उनलाई हाजिर गर्न दिनुपर्ने पक्षमा छन् ।
अब, काठमाडौं महानगरपालिले यो विवादलाई कसरी समाधान गर्छ त्यो हेर्न बाँकी नै छ । विवाद समाधान गर्ने र जनसेवामा सुधार ल्याउने भन्ने कुरामा सबैको चासो रहे पनि मेयर शाहको हठका कारण त्यो सहज हुने देखिँदैन । लामो समयको अन्तरालमा प्रशासकीय अधिकृत कार्यालयमा आउँदा मेयर शाहले स्वागत गर्नुको साटो उल्टै कार्यकक्षमा ताला ठोकेर बाहिरिए ।
नगर प्रहरीलाई ठेलेरै कार्यालय पुगे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं
गुरागाईँको कार्यालय प्रवेशको समयमा उपप्रमुख सुनीता डंगोल, वडाध्यक्षहरू र नगरपालिकाका कर्मचारीहरू पनि उपस्थित भएर स्वागत गरे । त्यहाँ कार्यरत कर्मचारीहरुले तलबै खान नपाएको अवस्थामा प्रशासकीय अधिकृत गुरागाईंलाई स्वागत गर्नुको साटो उल्टै कार्यकक्षमा ताला लगाएर सम्पर्कविहीन हुनुले मेयर शाहको गैरजिम्मेवारपन रहेको आरोप लगाएका छन् ।
बजेट निकासा नहुँदा जनताका काम थाती छन् ।
मेयर बालेन शाहले नगर प्रहरी परिचालन गरेर गुरागाईँको प्रवेशमा अवरोध गर्न खोजे पनि उपमेयर, वडाध्यक्षहरु एवं कर्मचारीको सहयोगमा गुरागाईं नगर प्रहरीको रोकावटलाई चिर्दै कार्यलयमा प्रवेश गर्न सफल भए ।
कार्यकक्षमा प्रवेशको प्रयास गर्दा मेयर शाहले कार्यकक्षमा ताला लगाएर साँचो आफूसँगै लिएर हिँडेपछि उपप्रमुख डंगोल र वडाध्यक्षहरूले अनौपचारिक बैठकमा मेयरको आलोचना गरे ।
‘जनप्रतिनिधिका रूपमा हामीले नागरिकको सेवा गर्नुपर्छ । कर्मचारी र कर्मचारीबीच लडाइँ हुनु राम्रो होइन,’ उपमेयर डंगोलले भनिन्, ‘कोठामा बसेर आदेश दिन पाइँदैन । कर्मचारी र महानगरवासीको हितका लागि हामी सबै एकजुट हुनुपर्छ ।’
मेयर र प्रशासकीय अधिकृतबीचको टसलले महानगरपालिकामा कार्यरत कसैले पनि पारिश्रमिक पाउन सकेका छैनन् । बजेट निकासा नहुँदा जनताका काम थाती छन् ।
मेयर-उपमेयरबीच सुरुदेखि नै विभिन्न राजनीतिक र प्रशासकीय विवाद उत्पन्न हुँदै आएको छ । विशेषगरी नगरपालिकाको नीति-निर्माण र कार्यान्वयनमा फरक मत छ ।