
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनालाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । साथै प्रदर्शनलाई दमन गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न पनि राप्रपाको माग छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले घटनाबारे ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिनको माग समेत गरेको छ ।
राप्रपाले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ ।त्यस दिनको प्रदर्शन हिंसात्मक हुनुमा राज्य पक्ष नै जिम्मेवार रहेको भन्दै राप्रपाले कार्यवाहहक प्रधानमन्त्री सिंहलाई तीनकुने र आसपासका घटनालगायतका विषयमा ध्यानाकर्षण गरायो।
राप्रपाले सभामै भाग लिएकै आधारमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुको रिहाइको समेत माग गरेको छ । नेताहरुलाई 'राज्यविरुद्धको अपराध' जस्तो गम्भीर प्रकृतिको मुद्दा लगाइएकोप्रति आपत्ति जनाएको छ ।