काठमाडौं, चैत २१ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालस्थित बंगलादेशी दूतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबिरले शिष्टाचार भेट गरेका छन् ।

लैनचारस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा उपराष्ट्रपति यादवले नेपाल र बंगलादेशबीच सन् १९७१ मा बंगलादेश स्वतन्त्र राष्ट्रका रूपमा स्थापना भएदेखि नै मैत्रीपूर्ण र सद्भावपूर्ण सम्बन्ध कायम रहेको बताए । ‘दुई देशबीच उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदान, द्विपक्षीय संयन्त्र र बैठकहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘हाम्रो दुई देशबीचको व्यापार पछिल्ला वर्षहरूमा वृद्धि भएको र थप व्यापार विस्तार र विविधीकरण गर्न सक्नुपर्छ ।’

उपराष्ट्रपति यादवले बंगलादेशले तेस्रो देशसँगको व्यापारको लागि चिटगाँव र मङ्गला बन्दरगाहमार्फत ट्रान्जिट सुविधा प्रदान गरेकामा खुसी जनाए । ‘रोहनपुर–सिङ्गाबाद रेलवे मार्गको शीघ्र सञ्चालनले यी समुद्री बन्दरगाहहरूमार्फत ट्रान्जिट सहकार्य प्रवर्धन गर्न महत्त्वपूर्ण हुनेछ,’ उनले भने, ‘विमान बंगलादेश र हिमालयन एयरलाइन्समार्फत हवाई उडानले पर्यटन प्रवर्धन एवं नेपाल र बंगलादेशबीच जनसम्पर्कलाई सहज बनाएको छ ।’

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् सम्भावना र बंगलादेशको ऊर्जा आवश्यकताहरूले दुई देशबीच ऊर्जा सहकार्यलाई विस्तार गर्ने प्रचुर अवसर प्रदान गरेको उल्लेख गरे । उनले नेपाल विद्युत् प्राधिकरण, बंगलादेश डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगम लिमिटेडबीच ३ अक्टोबर २०२४ मा काठमाडौँमा त्रिपक्षीय पावर सेल्स एग्रिमेन्ट (पीएसए) मा हस्ताक्षर हुनु प्रशंसनीय कार्य भएको बताए । ‘यस ऐतिहासिक सम्झौता नेपाल-बंगलादेश सम्बन्धमा कोसेढुङ्गाको रूपमा रहेको छ । यसले दक्षिण एसियामै क्षेत्रीय र उपक्षेत्रीय ऊर्जा सहकार्यलाई प्रवर्धन गर्ने अपेक्षा छ,’ उनले भने, ‘नेपाल र बंगलादेश दुवै देशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक धरोहर, साहसिक खेलकुद र जैविक विविधता झल्काउने प्रशस्त प्रसिद्ध पर्यटकीय गन्तव्य छन् । नेपाल बंगलादेशका लागि महत्त्वपूर्ण पर्यटक गन्तव्य रहिआएको छ ।’

उपराष्ट्रपति यादवले नेपाल र बंगलादेशबीच सांस्कृतिक सम्बन्ध र जनसम्पर्क प्रगाढ रहेको पनि उल्लेख गरे ।  ‘नेपाली विद्यार्थीका लागि बंगलादेश चिकित्सा, दन्तचिकित्सा र इन्जिनियरिङका क्षेत्रमा उच्च अध्ययनका लागि एक आकर्षक गन्तव्य रहीआएको छ,’ उनले भने, ‘बंगलादेश सरकारले वार्षिक रुपमा सोही संकायहरुमा २० भन्दा बढी छात्रवृत्ति प्रदान गरिरहेकोमा नेपाल धन्यवाद दिन चाहन्छ ।’

उनले नेपाल र बंगलादेशबीच उपक्षेत्रीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आपसी चासोका विषयहरूमा सहकार्य हुँदै आएकोमा खुसी जनाए । ‘यस्ता सहकार्य भविष्यमा पनि जारी रहनुपर्छ,’ उनले भने’ ‘नेपालले बंगलादेशसँगको सम्बन्धलाई एक मित्र राष्ट्रको रूपमा उच्च महत्त्व दिन्छ । हाम्रो दुई देश र जनताबीचको सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास लिएको छु ।’ भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले बंगलादेशको राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति महम्मद साहबुद्दिन र बंगलादेशी जनतालाई न्यानो अभिवादनसहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबिरले नेपाल र बंगलादेशबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै दुई देशले पर्यटन विकासमा जोड दिनुपर्ने बताए । ‘नेपालसँग सगरमाथा छ, बंगलादेशसंग ‘सी-बिच’ छ, जुन पर्यटनको आकर्षणको केन्द्र बन्न सक्छ,’ उनले भने, ‘हरेक वर्ष ४० हजार बंगलादेशी नेपाल भ्रमण गर्छन्, यसलाई बढाउन सकिन्छ ।’