
फाइल तस्बिर।
केही दिनयता काठमाडौंमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् ।
काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आईएफआर’ प्रविधिबाट उडान, अवतरण भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
‘बाक्लो तुवाँलोले भिजिबिलिटीमा कमी आएपछि आईएफआर प्रविधिबाट उडान/अवतरण भइरहेको छ,’ उनले भने, ‘सोही कारण साबिकको तुलनामा जहाजको व्यवस्थापनमा केही ढिला हुँदै आएको छ । उडान तथा अवतरण भने हालसम्म रद्द गरिएको छैन ।’
विमानस्थलमा अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये दुईवटा भैरहवा, एउटा जनकपुर तथा यती एयरलाइन्स र श्री एयरलाइन्सका एक-एक माउन्टेन फ्लाइट भैरहवा ‘डाइभर्ट’ भएका छन् ।