
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सांसदहरुले सोधेका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
