
पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान- १४ ले जितेको छ ।
गए राति धरान उपमहानगरपालिका- १६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान- १५ लाई १- ० गोलअन्तरले पराजित गर्दै धरान- १४ ले उपाधि जितेको हो । खेलको ६१औँ मिनेटमा धरान- १४ का विवेक राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको अन्तिम समयसम्म दुवै टिमले थप गोल गर्न नसकेपछि त्यही गोल नै निर्णायक बन्यो । उपाधिसँगै धरान- १४ लाई नगद एक लाख ७५ हजार पुरस्कार र उपविजेता धरान- १५ लाई नगद एक लाख पुरस्कार प्रदान गरिएको छ । आजको खेलको प्लेयर अफ दी म्याच धरान- १४ का आशिष पुरी घोषित हुँदै पाँच हजार ५०० प्रदान गरिएको छ ।
उत्कृष्ट गोलकिपर धरान- १५ का राजीव खड्कालाई रु पाँच हजार ५००, उत्कृष्ट डिफेन्डर धरान- १५ का अस्तोष राईलाई रु पाँच हजार ५००, उत्कृष्ट मिडफिल्डर धरान- १५ कै अरिक गुरुङलाई रु पाँच हजार ५००, उत्कृष्ट स्टाइकर धरान- १४ का निमेश तामाङलाई रु पाँच हजार ५००, उत्कृष्ट कोच धरान- १४ का शिव राईलाई रु पाँच हजार ५००, हाइस्कोर धरान- १७ का कृष्ण राईलाई रु पाँच हजार ५००, राइजिङ प्लेयर धरान- १७ का सुवास विकलाई रु पाँच हजार ५०० प्रदान गरिएको थियो भने खेलको फेयर प्ले टिम धरान- १७ घोषित भएको थियो ।
यही चैत ७ गतेदेखि धरान रङ्गशालामा रात्रिकालीन भएको फुटबल प्रतियोगितामा १८ वटा वडाको सहभागिता थियो ।