काठमाडौं, चैत २२ :

पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । हर्कले १ सय मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइ तथा १५० मिटर व्यक्तिगत मिड्लेमा खेल्नेछन् । समना ५० मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागी हुनेछिन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

व्यवस्थापकमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राखेपकी सदस्य अन्जना श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे । टोली भोलि (शनिबार) जापान प्रस्थान गर्नेछ ।