काठमाडौँ, चैत २३ :

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किंदै छन् ।

प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गरेका हुन् । उनलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरेका छन् ।

त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे । प्रधानमन्त्री ओली आज मध्याह्न १२ः३० बजे काठमाडौँ आइपुग्ने तालिका रहेको छ ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक- विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।