
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्यन्तै भयावह बनेको छ। पानी नपरेको लामो समय र आकाशमा थुप्रिएको धुलो-धुँवाका कारण यो अवस्था सिर्जना भएको हो ।
‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार अहिले काठमाडौँको वायुगुणस्तर सूचकांक २५० पुगेको छ, जसले काठमाडौँलाई आजको मितिमा विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा पुर्याएको छ।
प्रदूषणको स्तरको आधारमा दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ, जहाँ एक्यूआई १७८ मापन गरिएको छ। यस्तै तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर परेको छ, जसको एक्यूआई १६९ रहेको छ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको मापदण्ड अनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्ने मानिन्छ। तर ५० सम्मलाई सामान्य मानिए पनि त्यो भन्दा माथिको वायुगुणस्तर स्वास्थ्यका लागि हानिकारक हुन सक्ने जनाइएको छ।
५१ देखि १०० सम्मको एक्यूआईलाई सावधानी अपनाउनु पर्ने सूचकका रूपमा हेर्ने गरिन्छ भने १०१ देखि १५० सम्मको सूचकांकले श्वासप्रश्वास र मुटु सम्बन्धी समस्याका बिरामीलाई असर पुर्याउने देखिएको छ। त्यस्तै १५१ देखि २०० सम्मको स्तरलाई अस्वस्थकर मानिन्छ। २०१ देखि ३०० सम्मको वायु गुणस्तर ‘अति अस्वस्थ’ मानिन्छ भने ३०१ देखि ४०० सम्मको एक्यूआईलाई ‘खतरनाक’ र ४०१ देखि ४५० सम्मलाई ‘अत्यन्तै खतरनाक’ को सूचकका रूपमा लिइन्छ।
वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर ३०० भन्दा माथि पुगेमा त्यो अवस्थालाई ‘विपद्’ को रूपमा घोषणा गर्नुपर्ने उल्लेख छ।
यसरी हेर्दा हाल काठमाडौँको वायुगुणस्तरले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने स्थिति सिर्जना गरिसकेको छ। तत्कालै प्रभावकारी कदम चालिएन भने यो संकट झन गम्भीर बन्न सक्ने संकेत देखिएको छ।