खोटाङ, चैत २४ :

धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।

रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।

हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिए । रामनवमीको अघिल्लो रात जाग्राम बस्ने चलन छ । पञ्चेबाजासहित गहना लगेर महादेव पहिर्याउने गरिन्छ । 

काठमाडौँलगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्र गरिएका कारण पनि हलेसी आउने दर्शनार्थीको सङ्ख्या बढेको हो । मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न जिल्लास्थित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए । 

हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानैचट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धारजस्ता विभिन्न द्वार अवस्थित छन् । 

प्राकृतिक भूबनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठिक पछाडिपट्टि पर्छ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहारजस्तो देखिन्छ ।