काठमाडौं, चैत २४ :

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिर उद्घाटन गर्दै उनले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए । ‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पुर्खालाई बुझ्ने महत्त्वपूर्ण कडी हुन्,’ उनले भने, ‘देशका यस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र संवर्धन गरी पुर्खाको मिहिनेत, परिश्रम र चिनोका रुपमा रहेका कैंयन् सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो ।’

उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानका रुपमा कैयौं रमणीय स्थल रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको भन्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत स्वरूप र संरचनामै पुनर्निर्माण तथा जीर्णोद्धार चुनौतीपूर्ण कार्य हुँदाहुँदै यो मन्दिर पुनर्निर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे ।
तस्बिर : राष्ट्रपतिको सचिवालय