
फाइल फोटो ।
नेपालको राजनीतिक वृत्तमा पछिल्लो समय गणतन्त्र र राजतन्त्रको विषयमा मूल बहस भइरहेको छ। यसै सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनाअघि आफू, गिरिजाप्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच सहमति भएको दाबी गरेका छन्।
काठमाडौंस्थित आलोकनगरमा आइतबार आयोजित पार्टी निकट आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेलामा बोल्दै अध्यक्ष नेपालले जनयुद्धमा रहेको माओवादी पार्टी तीन नेताबीच सहमति भइसकेपछि मात्रै मूलधार राजनीतिमा मिसिएको खुलासा गरे।
‘यी सबै सहमति हामी तीन जनाबीच वैशाख ११ गते भइसकेको थियो,’ उनले भने, ‘गिरिजाबाबु र म बसेर कागजात तयार पार्यौं, राजा ज्ञानेन्द्रले त्यसपछि अधिकार जनतालाई सुम्पन तयार हुनुभयो। माओवादी त्यसपछि मात्रै मिसिएको हो।’
पूर्वराजा शाहलाई राजनीति गर्नुछ भने लोकतान्त्रिक प्रक्रिया अपनाउन सुझाव दिँदै नेपालले भने, ‘राजनीति गर्नु छ भने पार्टी खोल्नुस्, चुनाव लड्नुस्, जनताको बीचमा जानुस्। बहुमत ल्याएर जनसेवा गर्नुस्।’
उनले चैत १५ गते राजावादी प्रदर्शनका क्रममा आफ्नै पार्टी कार्यालय सुरक्षित नभएकोप्रति असन्तुष्टि जनाउँदै क्षतिपूर्तिको मागसमेत गरेका छन्।