
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पाको सदरमुकाम तानसेन पुग्नुभएको छ ।
जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा जानुभएको छ ।
राष्ट्रपति पौडेलले तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ ।
तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोली पल्ट धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ ।
विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्नुहुने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । आज नै अमननारायणको समेत रथ निकालिने भएको छ ।
