पाल्पा, चैत २६ :

लामो समयसम्म पानी नपरेर खडेरी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।

अधिकांश वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । डढेलोले वयस्क र पुराना रुख पनि नष्ट गरेको कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बर्ताए ।

चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गरेको प्रमुख भट्टराईले बताए । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।  

यसपाली हिउँदे वर्षा नभएकाले डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपाली हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । 

विशेषगरी जङ्गल नजिकैका बस्तीका नागरिक आगो लाग्नासाथ चिन्तित हुने गरेका छन् । जङ्गलमा लागेको आगो घरमा आउने डरले स्थानीय चिन्तित भएका छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय मानिन्छ । डढेलोका कारण वर्षभरि भएको हरियाली वन क्षणभरान नष्ट हुन्छ । यस वर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोका घटनाहरू बढेका वन प्रमुख भट्टराईले उल्लेख गरे ।

केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका- ३ झुम्साको खुलखुले सामुदायिक वन, झुम्साको वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिङ वन, तिनाउ गाउँपालिका- २ को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वनलगायत जङ्गलमा डढेलो लागिरहेको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ ।