काठमाडौँ, चैत २६ :

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका थिए । यसका बाबजुद पनि मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा थोरै वृद्धि देखिएको छ।

सोमबार यी दुवै देशका बजारहरू ठूलो गिरावटका साथ बन्द भएका थिए ।

ट्रम्पले यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नलिएमा मंगलबारदेखि चीनमाथि नयाँ कर लगाउने बताएका थिए।

मंगलबार, जापानको निक्केई २२५ सूचकांक र दक्षिण कोरियाको कोस्पी सूचकांकमा सोमबारको तुलनामा लगभग २ प्रतिशतले वृद्धि भएको छ। यससँगै अस्ट्रेलियाको सेयर बजार एएसएक्स २०० पनि थोरै वृद्धिका साथ खुलेको छ ।

सोमबार ट्रम्पको ट्यारिफ सम्बन्धी वक्तव्यको प्रभाव विश्वभरका सेयर बजारमा देखिएको थियो । त्यसले एसिया र युरोपका बजारहरूमा ठूलो गिरावट आएको छ।

भारतीय सेयर बजार पनि यसबाट अछुतो रहेनन् । राष्ट्रिय स्टक एक्सचेन्जको निफ्टी ३.२५ प्रतिशतले घट्यो भने सेन्सेक्स लगभग ३ प्रतिशतले घट्यो ।

-बीबीसी हिन्दी