
काठमाडौं, चैत २६ :
प्रहरीले तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । गत १५ चैतमा तीनकुनेमा प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी- ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौं- ३१ बस्ने १९ वर्षीय सुमन कार्की छन् ।
त्यस्तै, बर्दिया बारबर्दिया- २ जोहिगाउँका ३४ वर्षीय हेमराज थारू, धादिङ सिद्दलेख- ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्ध नगरपालिकाकी ३० वर्षीया अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।