
यूएस वर्ल्ड क्लास (यूएसडब्ल्यूसी) तेक्वान्दो- हलिउडले आफ्नो स्थापनाको ३०औं वार्षिक उत्सव मनाउने तयारी गरेको छ ।
यूएसडब्ल्यूसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्यान्डमा स्थापना गरेका हुन् ।
‘निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौं । यो तीन दशकको यात्रालाई हामी भव्य रुपमा स्मरण गर्दै छौं,’ यूएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडका सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने ।
महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइनेछ ।
‘हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौसम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुनाहरुको आतिथ्ययतालाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिक उत्सव मनाउने निर्णय गरेका हौं,’ उनले भने ।
प्रशिक्षक महर्जनले यसपटकको वार्षिक उत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए ।
‘तीसौं वर्षगाँठ भएकाले पनि विशेष छ, त्यसमा पनि यसपटक अमेरिकाका विभिन्न राज्य र अमेरिका बाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ,’ उनले भने, ‘विशेषगरी कोरियाबाट कुकिवान ग्रान्ड मास्टरको सहभागिता हुनेछ ।’
वार्षिक उत्सवका लागि कोरियासहित अस्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुनेछ ।
प्रशिक्षक महर्जनले सुरुका दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए । ‘तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्डमास्टरहरुले सेमिनारमा सबैलाई अपडेट गर्नेछन् र ब्ल्याक वेल्टदेखि माथिका डान टेस्ट परीक्षा पनि हुनेछ,’ महर्जनले भने, ‘त्यसपछि हामीले सांस्कृतिक कार्यक्रम पनि गर्नेछौं । हामी तेक्वान्दो सँगसँगै नेपाली संस्कृतिको संवर्धनमा पनि उत्तिकै सक्रिय छौं ।’
वार्षिकोत्सवमा विभिन्न अवार्ड प्रदान गरिनेछ । स्टुडेन्ट अफ मन्थ, ब्याल्कबेल्ट अफ दी इयर, फ्यामेली अफ दी इयर र भोलेन्टियर अफ दी इयर गरी चार अवार्ड वार्षिक उत्सवमामा प्रदान गरिनेछ ।