
मातृत्व जोगाउने अभियानअन्तर्गत भुपेन्द्रा बुढा स्मृति क्याम्पेन (सी-क्याप) को औपचारिक शुभारम्भ गरिएको छ ।
अभियानको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बडीगाड गाउँपालिका ८, ग्वालीचौर स्वास्थ्यचौकीमा एक कार्यक्रमबीच गरे ।
बडीगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा आयोजित समारोहमा मन्त्री पाठकले मातृत्व जोगाउने अभियानलाई बधाई तथा शुभकामना दिए । यस्ता कार्यक्रममार्फत महिलालाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन सकिने उनले बताए । ‘समयमै जाँच, सचेतना र उपचारले क्यान्सरजस्तो जटिल रोगबाट महिलाहरूको जीवन रक्षा गर्न सकिन्छ,’ उनले भने, ‘यस्ता अभियान प्रभावकारी रूपमा अगाडि बढ्न जरुरी छ ।’
भुपेन्द्रा बुढाको स्मृतिमा सञ्चालन गरिएको अभियानले नेपाली महिलालाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्य राखेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व, बडीगाड गाउँपालिका बागलुङ, अन्नपूर्ण गाउँपालिका म्याग्दी, पचालझरना गाउँपालिका कालीकोट, पटेर्वा सुगौली गाउँपालिका पर्सा, सिगास गाउँपालिका बैतडी र गौमुल गाउँपालिका बाजुरा गरी ७ स्थानीय तहका करिब १० हजार किशोरी र महिलालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने लक्ष्य लिइएको छ ।
अभियान कल्प इम्पावर वुमेन नेपालको पहलमा सञ्चालन गरिएको हो । संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार किशोरी समूह गठन, क्षमता अभिवृद्धि अभिमुखीकरण, स्वास्थ्य गाउँ साक्षरता अभियान र पाठेघरको मुख क्यान्सरसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको हो । दुईदिने शिविरको पहिलो दिनमै २४५ महिलाले प्रत्यक्ष लाभ लिएको जानकारी उनले दिइन् । कार्यक्रमको सञ्चालन मिस नेपाल २००५ सुगारिका केसीले गरेकी थिइन् ।