ललितपुर, चैत २७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। 

रास्वपाका नेताहरु आज बिहान आयोगको कार्यालय पुगेर लामिछानेको मानव अधिकार रक्षाका लागि आयोगका पदाधिकारीको ध्यानाकर्षण गराए। 

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार लगायतका नेताहरु आयोग गएका थिए ।  रास्वपाले लामिछानेलाई पक्राउ पुर्जी बिना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै विरोध जनाउँदै आएको छ।

लामिछानेमाथि सहकारीको रकम ठगेको आरोपमा  जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले चैत २२ गते पुर्पक्षमा पठाउन आदेश दिएको थियो। 

सोही दिन राति लामिछानेलाई काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक बिदा परेको कारण दुई रात हिरासतमा राखेर २३ गते मात्र उनलाई भैरहवा कारागार पठाइएको थियो।