काठमाडौँ, चैत २८ :

हङकङमा जारी चारदेशीय टी- २० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ । 

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।  

यो चारदेशीय टी- २० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो । 

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । 

यो खेल नेपाली समयानुसार बिहान ११ः १५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।