काठमाडौँ, चैत २८ :

भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान र  नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आएका मन्त्री चौहानले आफ्ना समकक्षी अधिकारीसँग द्विपक्षीय बैठक गरेका थिए ।

उनले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकामा आफ्ना समकक्षीलाई बधाई दिए । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्दै थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गरेको मन्त्रालयले जनाएको छ ।

कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीहरूले बुधबार हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस सम्झौताले २०४८ साल मङ्सिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

यसैगरी, भारतीय मन्त्रीले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरे । उनले भारतको नेतृत्वका तर्फबाट अभिवादन व्यक्त गर्दै भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धका बारेमा छलफल गरेका थिए ।

त्यस अवसरमा उनीहरूबीच कृषिका विभिन्न क्षेत्रहरूमा नेपाल- भारत सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।

क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायका रूपमा रहेको बिएएमएमको यो तेस्रो बैठक हो । बिएएमएमको पहिलो बैठक २०७६ साल असार २७ गते म्यान्मारमा भएको थियो र त्यसपछिको दोस्रो बैठक २०७९ साल कात्तिक २४ गते भारतमा भएको थियो । तेस्रो बिएएमएम बैठक काठमाडौँमा भएको हो । बैठकमा मत्स्यपालन र पशुपन्छी सहयोगसहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूबारे छलफल भएको छ ।