
काठमाडौंको भृकुटीमण्डपमा जारी १७औं ‘नाडा अटो शो-२०२५’ मा यतिबेला फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) ले यतिबेला सबै ध्यान केन्द्रित गरिरहेको छ ।
नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा भदौ ३ देखि जारी प्रदर्शनी भदौ ८ गतेसम्म चल्नेछ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारीसाधनसँगै चीनमा बनेको दिपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) ले विशेष आकर्षण बढाएको छ ।
अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी ‘एमएडब्लू वृद्धि अटोकर्प’ कम्पनीले नेपाल ल्याएको हो । एमएडब्लू चांगानकै लोकप्रिय उत्पादन ‘दिपल’ ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको कम्पनी हो । ‘दिपल एस-०५’ हालै सार्वजनिक गरिएको थियो । बिजुलीबाट चल्ने र आफैं उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम ‘इलेक्ट्रिक-भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ’ (ई-भीटीओएल) हो ।
उड्ने ट्याक्सी प्रदर्शनीमा राखिएपछि यस वर्ष विगतको तुलनामा आगन्तुकको संख्या अत्यधिक बढेको नाडाका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ । दुलाल भन्छन्, ‘विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यसपटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो छ । यसपटक स्टल पनि धेरै छन् । रोबोट, उड्ने ट्याक्सी राखिएका छन्, नयाँ प्रविधिले गर्दा अटो शो हेर्न आउने इन्जिनियरिङ र सूचना प्रविधिबारे अध्ययन गरिरहेका विद्यार्थी बढी छन् ।’
उड्ने ट्याक्सी अवलोकन गर्न नेपालको पूर्वदेखि पश्चिमसम्मका आगन्तुक प्रदर्शनी स्थलमा आइरहेको दुलालको भनाइ छ । ‘नेपालजस्ता भौगोलिक बनावट भएको देशका लागि अति प्रभावकारी हुने देखिन्छ, त्यसकारण सन् २०३० सम्म यसले उडान अनुमति पाउने विश्वास छ, त्यस आसपासमा नेपालमा पनि यसको आकर्षण निकै बढ्ने देखिन्छ ।’
प्रदर्शनी उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले पनि उड्ने कारले विश्वमा अनुमति पाउनासाथ नेपालमा पनि आवश्यक ऐन कानुन निर्माण गरेर सञ्चालन प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएको दुलाल बताए । उड्ने ट्याक्सी शतप्रतिशत सुरक्षित रहेको दुलालको दाबी छ । यसपटक जारी १७औं ‘नाडा अटो शो-२०२५’ मा उड्ने ट्याक्सी एक सय बढी कम्पनीका चारपाङ्ग्रे सवारी प्रदर्शनीमा राखिएको छ ।