
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको निगरानी पार्टीले गरिरहेको बताएका छन् ।
चितवनमा भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले प्रधानमन्त्रीले भटाभट काम गरेर देखाउने विश्वास व्यक्त गरे ।पार्टीले
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को खुट्टामा बल पुर्याएको बताउँदै उनले अब भटाभट गोल हान्ने काम हुने बताए ।
उनले झुक्किएर बल कतै गएमा फेरि पास गरेर बालेनकै खुट्टामा आफूले बल पुर्याउने पनि सभापति लामिछानेले बताएका छन्। उनले चुनावअघि बालेनसँग गरिएका सहमति कार्यान्वयन गरिने प्रतिबद्धता पनि जनाए।
लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताए। पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने उनको दाबी थियो।
यस्तै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताए । उनले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गरे ।