
गोरखा, चैत २८ :
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गएरातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए । ‘गएरातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्,’ उनले भने, ‘हिमपातले यस क्षेत्रमा चिसो एक्कासि बढेको छ ।’
साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ । हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन् ।
स्थानीय बासिन्दालाई घरबाहिर निस्कन कठिन भएको छ । हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताए । लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ ।