
काठमाडौं महानगरपालिकाका कर्मचारीहरू मेयर बालेन्द्र साह (बालेन) विरुद्ध आन्दोलित भएका छन्।
गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय फर्किएको घटनालाई लिएर कर्मचारीहरू आक्रोशित बनेका हुन्। उनीहरुले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे र मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहमाथि छानबिनको माग गरेका छन्।
बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको ज्ञापनपत्रमा तीन दिनभित्र छानबिन समिति गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरिएको छ।
त्यसदिन गुरागाईंलाई कार्यकक्ष प्रवेशमा अवरोध पुर्याउन महानगर प्रमुख बालेनले नगर प्रहरी खटाएका थिए। तर, वडाध्यक्ष र अन्य कर्मचारीहरूको सहयोगमा गुरागाईं आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए।
त्यसैगरी, स्वकीय सचिव शाहले सचिवालयका कर्मचारीको नाममा सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख, वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई लाञ्छित गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘चैत २१ गते महानगर प्रहरी प्रमुखको अगुवाइमा कार्यालय मर्यादाविपरीत भएको अनुशासनहीन, गैरकानुनी र अमर्यादित घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही होस्। तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरियोस्।’
‘स्वकीय सचिवले कर्मचारी आचरणविपरीत अनाधिकृत रूपमा सार्वजनिक वक्तव्य दिई जनप्रतिनिधिलाई बदनाम गर्न खोजेका छन्, त्यसैले निजलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरियोस्, ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तो छ ज्ञापनपत्र :