
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मुलुकमा रोजगारीको सम्भावना भए पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपालमा रोजगारी प्रवर्धन र श्रम बजारलाई व्यवस्थित गर्ने उद्देश्यले स्विस कन्ट्याक्टद्वारा सञ्चालित ‘स्टेट अफ’ परियोजनाको समीक्षा तथा अनुभव आदानप्रदान कार्यक्रममा उनले रोजगारदाताको आवश्यकताअनुसार दक्षता र सीप नभएका कारण चार लाख अदक्ष श्रमिक विदेश जान बाध्य हुनुपरेको बताए ।
मन्त्री भण्डारीले रोजगारदाता र रोजगार चाहनेलाई जोड्ने पद्धतिलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन सरकारले ध्यान दिने बताए । ‘अब हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न रोजगारदातासँग जोडिने माध्यम बनाउँछौं, यी सबै कुराको सहजीकरण गर्ने कार्य सरकारले गर्छ,’ उनले भने ।
मन्त्री भण्डारीले प्रविधिमा आधारित सेवा प्रवाहबाट सुशासन कायम गर्ने सरकारको लक्ष्य रहेको भन्दै आमजनतामा सहजै सेवा पहुँच बढाउने गरी रोजगार प्रणालीको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले हरेक नगरपालिकाले रोजगार सहायकको दरबन्दी सिर्जना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले युवा र महिलालाई उद्यमशीलता र रोजगारीसँग जोड्न स्विस कन्ट्याक्टले महत्त्वपूर्ण भूमिका खेलेको र यसले समुदायमा सकरात्मक प्रभाव पारेको बताए ।
‘युवा र महिलालाई रोजगार र उद्यमशीलतासँग कसरी जोड्न संस्थाले सहयोग गरेको छ । उद्यमशीलता अभिवृद्धिका लागि हामीले दिएका तालिमको सफलताका लागि पनि आवश्यक सहजीकरण गरिदिएर सरकारलाई झक्झक्याउने काम भएको छ,’ उनले भने, ‘कोसी प्रदेशमा २३ प्रतिशत युवा अझै बेरोजगार छन्, उनीहरूलाई रोजगार बनाउन हामीले अझै प्रयास गर्नुपर्नेछ । यसमा पनि यहाँहरूको सहयोग रहनेछ ।’
महानगरप्रमुख कोइरालाले श्रम संसार पोर्टललाई सरकारका निकायसँग जोडेर लैजानुपर्नेमा समेत जोड दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले कोसी प्रदेशमा विभिन्न पालिकामा लागु भएको यो परियोजनाले महत्त्वपूर्ण प्रभाव पारेको बताए । उनले सङ्घ र प्रदेश सरकारले नागरिकलाई सामाजिक चेतना र आत्मनिर्भर बनाउन परियोजना सहयोग पुगेको बताए ।
दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले रोजगार र उद्यमशीलतासँग जोड्न परियोजनाको परिणाम र सिकाइले दीर्घकालीन प्रभाव पार्ने बताए । उनले उद्यमशीलतासँग जोडिएका हरेक कार्यक्रमसँग युवालाई जोड्न सघाउ पुगेको धारणा राखे ।
स्विस कन्ट्याक्टका देशीय निर्देशक सञ्जयध्वज कार्कीले सन् २०२१ फेब्रुअरीदेखि मार्च २०२५ सम्म नेपालमा सञ्चालित ‘स्टेप-अप परियोजना’ को कार्यान्वयनमा हापेल फाउन्डेसन र स्विस विकास सहयोग (एसडीसी) बाट वित्तीय तथा प्राविधिक सहायता प्राप्त भएको जानकारी गराए । उनले कोसी प्रदेशका तीनवटा स्थानीय तहबाट सुरु भएको परियोजनाले चार वर्षको अवधिमा गृहणीलाई उद्यमशीलता तालिम, रोजगारका विषयमा सहजीकरण गरेको बताए ।