काठमाडाैं, चैत ३० :

केही दिनअघि विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँको वायु प्रदूषणको अवस्था उल्लेख्य रूपमा घटेको छ।

एअर क्वालिटी इन्डेक्स अनुसार शनिबार दिउँसो १:१५ बजे काठमाडौँ विश्वका प्रदूषित सहरहरूमा ४२औँ स्थानमा झरेको छ। यसबेला काठमाडौँको एक्यूआई स्तर ६७ मा मापन गरिएको छ, जुन अघिल्लो दिनहरूको तुलनामा निकै कम हो।

केही दिनअघि मात्रै काठमाडौँ एअर क्वालिटी इन्डेक्सको सूचीमा पहिलो स्थानमा पुगेको थियो। त्यतिबेला यहाँको एक्यूआई २०० भन्दा माथि रहेको थियो, जसले अत्यन्तै अस्वस्थ स्थितिलाई जनाउँथ्यो। तर हालको सूचकांक अनुसार काठमाडौँको वायु गुणस्तर मध्यम अवस्थामा पुगेको छ।

यसैबीच, विश्वमै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको सूचिमा अहिले चीनको वुहान पहिलो स्थानमा छ। वुहानमा एक्यूआई स्तर २५० मापन गरिएको छ, जुन अत्यन्तै अस्वस्थ श्रेणीमा पर्छ।

वायु प्रदूषणको तीव्र गिरावटले काठमाडौँवासीलाई केही राहत दिएको देखिएको छ भने वातावरणीय विश्लेषकहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। मौसममा आएको परिवर्तन, हावा बहावको तीव्रता र हालको वर्षा प्रणालीले प्रदूषण घट्न सहयोग पुर्‍याएको अनुमान गरिएको छ।